काठमाडौँ । बाढीका कारण लेदो र माटोले पुरिएर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार प्रयासमा केही प्रगति भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले शनिबार बिहानैदेखि सुरुङको लेदो पन्छाउँदै ड्रिलिङ जारी राखेकोमा अहिले सुरुङको माथिल्लो भाग (क्राउन) पत्ता लागेको छ ।
क्राउन पहिचान भएसँगै सोही बाटोबाट सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी भइरहेको छ । क्यामेरामार्फत भित्रको अवस्था नियाल्ने र ड्रिल गरिएको प्वालबाट अक्सिजन पुर्याएर फसेका व्यक्तिहरूलाई सुरक्षित राख्ने रणनीति अपनाइएको छ ।
उद्धार टोलीले अक्सिजन तथा प्राविधिक उपकरण भित्र पठाउँदै लेदो पन्छाउने र बाटो खोल्ने काम निरन्तर गरिरहेको छ । खराब मौसम र कठिन भौगोलिक बनोटका बाबजुद पनि उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

