काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको खाली रहेको डेपुटी गभर्नर पदमा दीर्घ रावललाई चयन गरेको छ । राष्ट्र बैंकमा लामो समयदेखि रिक्त रहेको स्थानमा सरकारले यो निर्णय गरेको हो ।
यसअघि २०८२ फागुन २५ गतेदेखि राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नरका पद खाली भएका थिए । त्यसपछि सरकारले गत चैत २४ गते किरण पण्डितलाई एक डेपुटी गभर्नरमा मनोनयन गरे पनि दोस्रो पद भने रिक्त नै छाडेको थियो । राष्ट्र बैंक ऐन अनुसार गभर्नरले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्ति गर्ने कानुनी प्रावधान छ ।
नवनियुक्त डेपुटी गभर्नर रावल हाल राष्ट्र बैंकमै कार्यकारी निर्देशकका साथै बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीमा थिए । यसका साथै उनले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को नेतृत्व समेत सम्हालिसकेका छन् ।

