काठमाडौँ । प्रतिनिधि सभाका चार वटा विषयगत समितिको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न समितिका बैठक तयिएका हुन्।
बिहान साढे ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका र न्याय प्रशासनको वर्तमान अवस्था, यस क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका उपायबारे गहन छलफल हुनेछ।
त्यसैगरी, बिहान १० बजे अर्थ समितिको बैठक बोलाइएको छ। सो बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यसूची छ। सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने वैदेशिक रोजगार व्यवस्थापनका विविध विषयमा छलफल हुनेछ।
दिउँसो १ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। उक्त बैठकमा समितिमा प्राप्त विभिन्न उजुरीहरूका सम्बन्धमा आन्तरिक छलफल गरिने कार्यसूची रहेको छ।

