मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा केही दिनयता जारी अविरल वर्षाका कारण प्राकृतिक विपद्को खतरा बढेपछि स्थानीय प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
साउन १६ गतेदेखि परेको निरन्तरको झरीका कारण कालीगण्डकी नदी लगायत स्थानीय नदीनालामा पानीको बहाव निकै बढेको छ । खोलामा आएको बाढी र आसपासका पहाडबाट पहिरो खस्ने सम्भावना उच्च भएपछि बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने काभ्रेभिर, जोमसोम र लोमान्थाङ क्षेत्रको यातायात जोखिमपूर्ण बनेको छ ।
यसै सन्दर्भमा जिल्ला सुरक्षा समितिले साउन १९ गते बैठक बसी साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिम कम गर्न सहयोग गर्न सबैमा आग्रह गर्दै अत्यावश्यक काम परी यात्रा गर्नुपरेमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

