काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची बनाइएको छ ।
यसैगरी, व्यवस्थापन कार्यतर्फ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
साथै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

