काठमाडौँ । पाकिस्तानस्थित विश्वको बाह्रौँ अग्लो हिमाल ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव रहेको स्थानसम्म उद्धारकर्ताहरू अझै पुग्न नसकेको खबर छ ।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार आइतबार बिहानैदेखि १० जना विशेषज्ञ सम्मिलित टोली खटाइएको भए पनि भौगोलिक जटिलताका कारण उद्धार कार्यमा बाधा पुगिरहेको छ ।
ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा केही शवहरूको स्थिति पत्ता लागेको भए पनि उक्त क्षेत्र पुनः हिमपहिरो खस्ने उच्च जोखिममा रहेकाले उद्धार टोली अघि बढ्न नसकेको हो । एसीपीका अनुसार हालसम्म तीन जना आरोहीको मात्र शव सङ्कलन गरी सुरक्षित स्थानमा ल्याउन सकिएको छ ।
उक्त दुर्घटनामा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइसका साथै नेपालका चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा परेका थिए । बाँकी शवहरू निकाल्नका लागि उद्धार टोलीले प्रयास जारी राखेको छ ।

