काठमाडौँ । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको नयाँ अधिवेशनका क्रममा आज महत्त्वपूर्ण संसदीय कार्यसञ्चालनका गतिविधिहरू हुँदैछन् ।
सङ्घीय संसद सचिवालयले दिएको जानकारी अनुसार अपराह्न १: १५ बजे निर्धारण गरिएको बैठकमा विभिन्न मन्त्रालयका विभागीय मन्त्रीहरूले सांसद्हरूले उठाएका जिज्ञासाको उत्तर दिने तयारी पूरा भएको छ ।
आजको सम्भावित कार्यसूची अनुसार परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूका उत्तर टेबल गरिनेछ । यसैगरी, अर्थ मन्त्रालय एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग जोडिएका मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले प्रत्यक्ष रूपमा दिने कार्यक्रम छ ।
विधायिकी कार्य अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

