काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सरकारले मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसका लागि नयाँ नारा सार्वजनिक गरेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यस वर्ष आगामी भदौ २० गते ‘प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइने भएको छ ।
सूचना तथा प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका शैली र स्वरूपसमेत बदलिँदै गएकाले digital माध्यमको सुरक्षित प्रयोगलाई ध्यानमा राखेर यो नारा चयन गरिएको हो । पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन विज्ञापन तथा वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर ठगी र शोषण गर्ने क्रम बढेकाले नागरिक तहमा सजगता बढाउनु अत्यावश्यक देखिएको मन्त्रालयको भनाइ छ ।
दिवसका अवसरमा बेचबिखनको जोखिम घटाउने, पीडितको उद्धार तथा पुनर्स्थापना गर्ने र सरोकारवाला निकायबीचको समन्वयलाई थप बलियो बनाउने गरी विभिन्न कार्यक्रम आयोजना गरिनेछ । यस अपराधलाई रोक्न तीनै तहका सरकार, नागरिक समाज, मिडिया र समुदाय सबैको उत्तिकै भूमिका रहने हुनाले सबैलाई ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गरिएको छ ।

