काठमाडौँ । आज सङ्घीय संसदअन्तर्गत तीनवटा विषयगत समितिका बैठकहरू सञ्चालन हुँदैछन् । जसअन्तर्गत प्रतिनिधि सभाका दुईवटा र राष्ट्रिय सभाको एउटा समितिको बैठक तय गरिएको छ ।
दिउँसो २:३० बजे बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा देशको परराष्ट्र मामिलाका पछिल्ला समसामयिक विषयमा विज्ञहरूसँग विचार-विमर्श गर्ने कार्यसूची बनाइएको छ ।
यसैगरी, बिहान १०:३० बजे सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीहरूको अवस्थाबारे तयार पारिएको ‘निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३’ माथि छलफल हुँदैछ । साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको स्थितिबारे प्रस्तुत अर्को प्रतिवेदन पारित गर्ने तालिका पनि रहेको छ । उक्त बैठकमा गृहमन्त्री, कानुनमन्त्री, गृह र कानुन सचिव, प्रहरी महानिरीक्षकका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ ।
यस्तै, बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने राष्ट्रिय मानव अधिकार आयोगसँग मानव अधिकारको वर्तमान अवस्था र विभिन्न प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्ने कार्यसूची छ ।

