काठमाडौँ । हरेक वर्ष अगस्ट २१ मा विश्वभर आतंकवादी आक्रमणबाट प्रभावित र ज्यान गुमाएका नागरिकको सम्झना तथा सम्मानका लागि विशेष दिवस मनाइने गरिन्छ ।
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यो दिवस मनाउने निर्णय गरेको थियो । आतंकवादी घटनाका कारण मानिसहरूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा लामो समयसम्म अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।
यसै तथ्यलाई ध्यानमा राख्दै पीडितहरूको अधिकार रक्षा र उनीहरूलाई निरन्तर सहयोग पुर्याउनु विश्व समुदायको कर्तव्य मानिएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूलाई पीडित तथा तिनका परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकता पूर्ति हुने गरी एकीकृत सहयोग कार्यक्रम तयार गर्न आग्रह गर्दै आएको छ ।
यसका साथै पीडितका समस्या उजागर गर्ने, कानुनी अधिकारको ग्यारेन्टी गर्ने र उनीहरूलाई समाजमा सम्मानपूर्वक पुनःस्थापित गराउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

