काठमाडौँ । नेपालमा पछिल्लो समय एलपी ग्यासको आयात निरन्तर बढिरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ ।
भारतबाट बिनाअवरोध ग्यास भित्रिरहेको र उद्योगहरूले समेत तीव्र रूपमा सिलिन्डर रिफिलिङ गरी बजारमा पठाइरहेकाले मागभन्दा बढी ग्यास खरिद गरेर नराख्न सङ्घले स्पष्ट पारेको छ ।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिअनुसार उपभोक्ताले अनावश्यक रूपमा थप सिलिन्डर होल्ड नगरेमा बजारमा देखिएको क्षणिक अभावको समस्या तुरुन्तै समाधान हुनेछ ।
आयल निगमको समन्वयमा भारतीय रिफाइनरीहरूबाट हाल ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ । निगमको तथ्याङ्कअनुसार पछिल्लो २२ दिनमै ३९ हजार ७७४ मेट्रिकटन ग्यास भित्रिसकेको छ भने साउन महिनाभर करिब ५५ हजार मेट्रिकटन आयात हुने अनुमान छ, जुन गत वर्षको सोही अवधिको (४४ हजार ३१८ मेट्रिकटन) तुलनामा उल्लेख्य बढी हो ।
बजारको आवश्यकता पूरा गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै सङ्घले व्यावसायिकभन्दा घरायसी प्रयोगकर्तालाई प्राथमिकता दिएर ग्यास बिक्रीवितरण गर्न बिक्रेताहरूलाई निर्देशनसमेत दिएको छ ।

