काठमाडौँ । मनसुनी वायुको निरन्तर प्रभावका कारण देशका धेरैजसो स्थानमा बदली र वर्षाको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा दर्ज भएको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लागिरहनेछ । पहाडी तथा हिमाली भू-भागका धेरै स्थानका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई भेगमा पनि केही स्थानमा वर्षा हुने महाशाखाको अनुमान छ । यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ ।
आज राति पनि देशभरको मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भारी र बागमती तथा गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

