काठमाडौँ । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको विनासकारी हिमपहिरोमा ज्यान गुमाएका तीन जना नेपाली आरोहीको पार्थिव शरीर मंगलबार अपरान्ह राजधानी ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार साउन १४ गते भएको सो दु:खद दुर्घटनामा परि ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको विमानमार्फत दिउँसो ४:४५ बजे काठमाडौँ अवतरण गराइनेछ । उक्त हिमपहिरोमा परेर ज्यान गुमाएका अर्का आरोही पुरबहादुर गुरुङ ‘युक्त’को शव भने गत साउन २१ गते नै काठमाडौँ ल्याइसकिएको छ ।
यसै गरी, सोही दुर्घटनामा ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जाको शव भने उनको परिवार बसोबास गर्दै आएको संयुक्त अधिराज्य (बेलायत) लगिएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक जना अमेरिकी आरोहीको शव सङ्कलन गरी ल्याउन बाँकी रहेको छ ।

