काठमाडौँ । रसुवा, नुवाकोट, धादिङ र गोरखा भएर बहने भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ६४४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको विवरण अनुसार १२७ जना नेपालीसहित विभिन्न देशका पर्यटक बेपत्ता भएका हुन् । विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बोर्डले बाढी प्रभावित क्षेत्रमा १७८ जना भारतीय, ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेसियाली, ३५ जना अस्ट्रेलियाली, ३३ जना बेलायती र २५ जना क्यानडाली नागरिक सम्पर्कविहीन भएको जनाएको छ ।
यस्तै सिङ्गापुर, जर्मनी, रुस, लाटभिया, दक्षिण अफ्रिका, जापान, न्युजिल्यान्ड, फ्रान्स, बेल्जियम, स्पेन, इटाली, आयरल्यान्ड, कजाकस्तान, नेदरल्यान्ड्स, पोर्चुगल, बेलारुस, बुल्गेरिया, फिनल्यान्ड, हङ्गेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया, स्वीडेन र स्विट्जरल्यान्डका पर्यटक पनि बेपत्ता सूचीमा रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा हराइरहेकाहरूको खोजी तथा सुरक्षित उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनले एकीकृत रूपमा काम गरिरहेका छन् । नदी कोरिडोर किनारमा व्यापक भौतिक क्षति पुगे पनि पहाडी तथा माथिल्ला अन्य ट्रेकिङ मार्गहरू सुरक्षित रहेको पर्यटन बोर्डले स्पष्ट पारेको छ ।
उद्धार र समन्वयलाई सहज बनाउन बोर्डले १२३४ (टोल फ्री), ११४४ (हटलाइन) र ९८५१२८९४४५ (पर्यटक प्रहरी) नम्बरसहितको आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा नागरिकलाई शान्त रहँदै सुरक्षित स्थानमा बस्न र आधिकारिक सुरक्षा निर्देशिका पालना गर्न पर्यटन बोर्डले अनुरोध गरेको छ ।


