काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र ‘मेरिटोक्रेसी’ र योग्य नेतृत्वको खोजी गर्ने लक्ष्यका साथ ‘क्यान्डिडेट क्लब’को औपचारिक सुरुवात गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमका बीच रास्वपा सभापति रवि लामिछानेले क्लबको आधिकारिक लोगो सार्वजनिक गर्दै उक्त नयाँ अवधारणाबारे जानकारी गराएका हुन् ।
राजनीतिक दलहरूले दस्तावेज, सिद्धान्त र नारामा जति सुकै आदर्श प्रस्तुत गरे पनि व्यवहारमा त्यो लागू हुन नसकेको स्वीकार गर्दै लामिछानेले रास्वपाले फरक राजनीतिक अभ्यास थालेको दाबी गरे ।
विचार र सिद्धान्तलाई समाजमा पूर्ण रूपमा स्थापित गर्न केही समय लाग्ने उल्लेख गर्दै उनले संसद् वा सरकारमा पुग्नु मात्रै राजनीतिक दलको पूर्णता नभएको स्पष्ट पारे ।
राजनीतिक क्षेत्रमा क्षमता र योग्यताका आधारमा नेतृत्व पहिचान गर्न र अवसर सिर्जना गर्नका लागि यो ‘क्यान्डिडेट क्लब’ तथा निर्देशिका कानुनीको अवधारणा ल्याइएको उनको भनाइ छ ।

