काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बिहान ११ बजे प्रतिनिधि सभा र अपराह्न १:१५ बजे राष्ट्रिय सभाको बैठक निर्धारण गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ । त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित ऐन संशोधन विधेयक सदनसमक्ष राख्नेछिन् ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ सहित सुरक्षित मातृत्व, स्वास्थ्यकर्मीको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अपराह्न बस्ने राष्ट्रिय सभाको बैठकमा भने प्रधानमन्त्री साहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

