काठमाडौँ । देशको समसामयिक राजनीतिक वातावरण, पार्टीको आन्तरिक सुदृढीकरण तथा साङ्गठनिक विस्तारबारे निर्णय लिन जनता समाजवादी पार्टी, नेपालको शीर्ष तहको छलफल सुरु भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आगामी राजनीतिक कार्यदिशा र विविध साङ्गठनिक प्रस्तावमाथि गहन मन्थन हुनेछ ।
पार्टीका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाका अनुसार बैठकमा पेस हुने राजनीतिक प्रतिवेदनसँगै प्रदेशदेखि स्थानीय तहसम्मका पार्टी संरचना एवं भ्रातृ सङ्गठनहरूको समायोजन प्रक्रियालाई अन्तिम रूप दिने एजेन्डा रहेको छ ।
यसका साथै अग्रगामी मोर्चा निर्माणका लागि अन्य राजनीतिक दलहरूसँग भइरहेको सहकार्य, संसदीय बोर्ड गठन, र कार्यकारिणी सदस्यहरूको जिम्मेवारी बाँडफाँडबारे पनि ठोस निर्णय लिइनेछ ।
बैठकमा मुलुकका विभिन्न भागमा हालै गएको बाढीपहिरो र प्राकृतिक विपद्बाट प्रभावित भएका नागरिकहरूलाई राहत सहयोग जुटाउने विषयलाई समेत प्राथमिकताका साथ छलफलमा ल्याइएको छ ।

