काठमाडौँ । विश्वभर चिकित्सक तथा नर्स जस्ता स्वास्थ्यकर्मीको संख्यामा वृद्धि भए पनि सबै नागरिकले समान रूपमा उपचार पाउने स्थिति अझै बन्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ प्रतिवेदन ‘राष्ट्रिय स्वास्थ्य जनशक्ति लेखा : स्वास्थ्य जनशक्तिको स्तर र प्रवृत्ति २०२६’ अनुसार अहिले स्वास्थ्य क्षेत्रले दोहोरो चुनौतीको सामना गरिरहेको छ । एकातिर गरिब तथा विकासोन्मुख राष्ट्रहरूमा दक्ष जनशक्तिको ठूलो अभाव छ भने अर्कातिर धनी देशहरूमा कार्यरत ठूलो संख्याका चिकित्सकहरू अवकाशको उमेरनजिक पुगिरहेका छन् ।
प्रतिवेदन अनुसार विश्वभर स्वास्थ्य तथा हेरचाह क्षेत्रमा काम गर्नेको संख्या ७ करोड नाघेको छ। सन् २००६ मा प्रति १० हजार जनसंख्यामा औसत ४४.८ जना स्वास्थ्यकर्मी उपलब्ध रहेकोमा सन् २०२५ सम्म आइपुग्दा यो अनुपात बढेर ६७.९ पुगेको छ । तर स्वास्थ्यकर्मीको संख्या बढे पनि उनीहरूको असमान वितरण मुख्य समस्या बनेको छ । उदाहरणका लागि, युरोपेली क्षेत्रमा चिकित्सकको उपलब्धता अफ्रिकी क्षेत्रको तुलनामा करिब १३ गुणा र नर्स तथा प्रसूतिकर्मीको उपस्थिति करिब ६ गुणा बढी छ । यसले गर्दा न्यून आय भएका देशहरूमा अस्पतालको चाप बढ्ने र ग्रामीण क्षेत्रमा सेवा ठप्प हुने जोखिम उच्च छ ।
यसबाहेक, स्वास्थ्यकर्मीको उमेर संरचनाले पनि नयाँ संकटको संकेत गरेको छ। विश्वभरका करिब २५ प्रतिशत र उच्च आय भएका देशहरूमा करिब ३३ प्रतिशत चिकित्सक ५५ वर्षभन्दा माथिका छन् । ज्येष्ठ नागरिकको संख्या र दीर्घकालीन रोगको भार बढिरहेका बेला अनुभवी चिकित्सकहरू अवकाशमा जाँदा स्वास्थ्य सेवा प्रणालीमा थप दबाब पर्ने देखिन्छ ।
डब्ल्यूएचओका अनुसार हालकै स्थिति रहे सन् २०३० सम्ममा विश्वभर १ करोड ११ लाख स्वास्थ्यकर्मीको अभाव हुनेछ । ६७ वटा देशले आधारभूत स्वास्थ्य सेवा दिनसमेत धौधौ पर्ने अवस्था आउने भएकाले केवल शिक्षण संस्था थपेर मात्र नपुग्ने र जनशक्तिलाई ग्रामीण क्षेत्रमा टिकाउन सुरक्षित वातावरण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

