काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टोलीहरूले विदेशी खेलाडी भित्र्याउने क्रम तीव्र पारेका छन् ।
यसैबीच विराटनगर किंग्सले श्रीलंकाको टी-२० राष्ट्रिय टोलीका कप्तान चरिथ असलंकालाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।
विराटनगरले सामाजिक सञ्जालमार्फत असलंकालाई अनुबन्ध गरिएको आधिकारिक जानकारी गराएको हो । २९ वर्ष पुगेका आक्रामक ब्याटर असलंकासँग अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव छ । उनले श्रीलंकाका लागि ७७ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै १४६६ रन जोडिसकेका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिन लागेको विराटनगर किंग्समा स्वदेशी युवा तथा अनुभवी खेलाडीहरूको बलियो उपस्थिति छ । टोलीमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखजस्ता खेलाडीहरू समावेश छन् ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु भएर मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुने तय भएको छ ।

