काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।
संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न विधेयकहरूलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक पारित गर्नेसम्मको तयारी रहेको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उहाँले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्नुहुनेछ ।
त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभाबाट उत्पत्ति भई आएको ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ लाई समितिमा पठाउन प्रस्ताव गर्नुहुनेछ ।
अर्कोतर्फ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ माथि छलफलको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उहाँले सोही बैठकमै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नुहुनेछ ।

