काठमाडौँ । उपत्यकाको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ प्रहरी वृत्त गौशालाको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।
आइतबार आयोजित विशेष समारोहका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्निर्मित कार्यालय भवनको औपचारिक उद्घाटन गर्दै नवनिर्मित संरचनाको निरीक्षण गर्नुभयो ।
उद्घाटनपश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई कदरपत्र र प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । पूर्ण रूपमा क्षति पुगेका प्रहरी संरचनाको पुनर्निर्माणमा प्राप्त जनसहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले यस्ता कार्यले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, यस सहयोगले प्रहरी संगठनलाई थप नागरिकमैत्री, पारदर्शी र उत्तरदायी भई सेवाभावका साथ अघि बढ्न प्रेरणा दिएको उहाँको भनाइ थियो ।
प्रहरी संरचनाको भौतिक सुधारसँगै समुदायसँगको भावनात्मक सम्बन्ध पनि थप सुदृढ भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राख्नुभयो । सोही क्रममा उहाँले पुनर्निर्मित भवनबाट सेवा दिने प्रहरी कर्मचारीहरूलाई पूर्ण अनुशासन, संवेदनशीलता र निष्ठाका साथ नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।
समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी भवन पुनर्निर्माण कार्यसमितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने पुनर्निर्माण समितिका कोषाध्यक्ष वि.एन. पाठकले आर्थिक तथा इन्जिनियर डा. शंकर ढकालले प्राविधिक प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

