काठमाडौँ । लगातारको झरीले सडक हिलाम्मे हुनुका साथै फोहोर विसर्जन स्थलमा पहिरो र लेदो खस्ने क्रम नरोकिएपछि काठमाडौँ महानगरपालिकाले केही दिन घरबाहिर फोहोर ननिकाल्न नगरबासीलाई अपिल गरेको छ ।
वर्षाका कारण सडक र बन्चरेडाँडास्थित फोहोर विसर्जन क्षेत्र जोखिमपूर्ण बनेकाले फोहोर बोक्ने गाडीको आउजाउ र व्यवस्थापन कार्य गम्भीर रूपमा प्रभावित भएको छ । स्थिति सामान्य नभएसम्म घर, पसल तथा व्यवसायीहरूलाई आफ्ना फोहोर सडक, चोक, सार्वजनिक ठाउँ, वा नदी किनारमा नफाल्न महानगरले आग्रह गरेको छ ।
फोहोर संकलन प्रक्रिया पुनः सञ्चालन नभएसम्म सम्भव भएसम्म फोहोरलाई घरभित्रै सुरक्षित राख्न र कुहिने तथा नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न भनिएको छ । सार्वजनिक स्थलमा जथाभाबी फोहोर फ्याँक्दा सडक ढल थप थप्पिएर पानीको निकास रोकिने र बाढीको जोखिम बढ्ने भएकाले सचेत रहन महानगरले चेतावनी दिएको छ ।
वर्षा रोकिएर सडक तथा विसर्जन स्थलको अवस्था सुधार हुनासाथ फोहोर उठाउने कार्यलाई पुनः निरन्तरता दिइने जनाइएको छ ।

