काठमाडौँ । जापानमा सञ्चालन भइरहेको २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट विधामा नेपालले विजयी सुरुआत गरेको छ । कोरोगी स्पोर्ट्स पार्क, निशिनमा सम्पन्न रोमाञ्चक भिडन्तमा नेपालले प्रतिस्पर्धी टोली अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल खडा गरेको थियो । १०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपाली टोलीले १७.२ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्यो ।
नेपालको जितमा सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३४ रनको योगदान दिए । यस्तै, टोलीका कप्तान रोहितकुमार पौडेलले ३३ रनको अविजित इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले १५ तथा कुशल मल्लले ९ रन जोडे ।
अफगानिस्तानका तर्फबाट फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले १–१ विकेट हात पारे ।
त्यसअघि, पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाएका थिए भने नङ्गेलिया खान १७ रनमा अविजित रहे । नेपाली बलिङतर्फ कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिए भने ललितनारायण राजवंशीले ३ विकेट चट्याए ।
नेपाल, अफगानिस्तान र आयोजक जापान समूह ‘ए’ मा रहेका छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपालले शनिबार जापानको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा भने मलेसिया, हङकङ र ओमान रहेका छन् ।

