कैलाली । कैलालीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट मङ्गलबार बिहान एक बालकले ज्यान गुमाएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ क १३५२ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका ५ वर्षीय बालक लेखराज देउवालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा बिहान ९:२० बजे चिकित्सकले मृत घोषित गरेका हुन्। मृतक बालक स्थानीय भरत देउवाका छोरा हुन् ।
घटनालगत्तै प्रहरीले सवारी साधन र चालक लम्कीचुहा नगरपालिका–२ निवासी २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक छानबिन भइरहेको जनाएको छ ।

