डोल्पा । अविरल वर्षासँगै गएको पहिरोका कारण भिरबाट खसेको ढुंगाले लागेर रावलबाडामा एक पुरुषको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–७ स्थित रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी शुक्रबार राति बगर हरेलखोलामा रहेको गाईगोठमा सुतिरहेका थिए । सोही क्रममा माथि भिरबाट वर्षाका कारण खसेको ढुंगाले उनीहरूलाई लागेको हो ।
ढुंगाको चोटका कारण मनरुप केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले पुष्टि गरेको छ । घटनामा घाइते भएका चन्द्ररुप केसीको ढाडमा चोट लागेको र उनको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

