काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको अन्तिम आठमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ ।
समूह ‘ए’ अन्तर्गत जापानसँगको अन्तिम खेल वर्षाका कारण प्रभावित भई रद्द भएपछि नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको उक्त म्याचमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पारेको थियो ।
नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदै जापानले दोस्रो इनिङ्स सुरु नै गर्न नपाई लगातार पानी परेपछि खेल अगाडि बढ्न सकेन । अन्ततः दुवै टोलीले १–१ अंक बाँडेका छन् । यससँगै ३ अंक जोडेको नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल पुग्यो भने २ अंक जोडेको अफगानिस्तान दोस्रो टोलीका रूपमा अघिल्लो चरण प्रवेश गरेको छ । १ अंक मात्र जोड्न सकेको जापान भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
अब सेमिफाइनल प्रवेशका लागि नेपालले बलियो प्रतिस्पर्धी श्रीलंकाको सामना गर्नेछ । उक्त क्वाटरफाइनल भिडन्त आगामी मंगलबार बिहान ५:४५ बजे सुरु हुनेछ । अर्को क्वाटरफाइनल खेलमा अफगानिस्तानले भारतको सामना गर्ने तय भएको छ ।

