काठमाडौँ । मनसुनी वायुका साथै पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम प्रतिकूल बनेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा आसपास रहेको बलियो न्यून चापीय क्षेत्र उत्तर-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले आगामी २४ घण्टासम्म यसको असर कायम रहनेछ ।
अहिले सुदूरपश्चिम बाहेकका अधिकांश प्रदेशमा पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भू-भागमा वर्षा भइरहेको छ । दिउँसो र रातिको समयमा हिमाली क्षेत्रमा हिमपातका साथै पहाडी तथा तराईका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साथै, तराईका भू-भागमा तीव्र गतिमा हावाहुरी चल्नसक्ने पूर्वानुमान छ ।

