काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाइएको छ ।
कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निम्तो दिएको हो ।
कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले तीनै जना नेताहरूलाई व्यक्तिगत रूपमा भेटेरै महाधिवेशनको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।
आगामी असोज १६ गतेदेखि काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औं महाधिवेशन सुरु हुँदैछ । सहमहामन्त्री राणाले उद्घाटन समारोहमा सबै राजनीतिक दलका प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई उपस्थितिका लागि आह्वान समेत गरेका छन् ।

