काठमाडौँ । नेपाल र पश्चिम अफ्रिकी मुलुक सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध गाँसिएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध कायम गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर हुनुअघि भएको संक्षिप्त भेटघाटमा दुवै पक्षबीच द्विपक्षीय हित र सहकार्यका विविध विषयमा कुराकानी भएको थियो । त्यसक्रममा नेपाली प्रतिनिधिमण्डलले नेपालमा हालै गएको जलवायुजन्य विपत्तिपछिको राहत, उद्धार र पुनःस्थापनाका प्रयासबारे सेनेगली टोलीलाई जानकारी गराएको थियो ।
भेटमा दुवै देशका मन्त्रीहरूले आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् । सेनेगलसँगको यो सम्झौतासँगै नेपालले कूटनीतिक सम्बन्ध विस्तार गरेका देशको संख्या १८८ पुगेको छ ।

