काठमाडौँ । दक्षिण अफ्रिकी राष्ट्र नामिबियासँग नेपालको औपचारिक कूटनीतिक सम्बन्ध गाँसिएको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी महासभाको ८१औँ अधिवेशनका क्रममा दुवै देशका विदेशमन्त्रीहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै औपचारिक कूटनीतिक यात्राको सुरुवात गरेका हुन् ।
हस्ताक्षर समारोहअघि परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा आशिपाला–मुसाभीबीच भएको भेटवार्तामा दुईपक्षीय हित र सहकार्यका विविध विषयमा कुराकानी भएको थियो ।
भेटमा नेपालले हालै भोगेको विनाशकारी जलवायुजन्य विपद्को असरका साथै दुवै देशको साझा समृद्धि र नयाँ सम्भावनाहरूको खोजी गर्नेबारे छलफल भयो । यो नयाँ सुरुआतसँगै नेपालले द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम गरेको मुलुकको संख्या १८७ पुगेको छ ।

