काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार अवधिभर उतारचढावका बीच अन्ततः नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा ओर्लिएर बन्द भएको हो ।
यस दिन ३५७ वटा कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा किनबेच भएका छन् । समग्र बजार ओरालो लाग्दा ट्रेडिङ उपसमूहबाहेक अन्य सबै क्षेत्रका सूचक राताम्मे बनेका छन् ।
घट्दो बजारका बीच पनि १० प्रतिशत केबीएल डिबेन्चर ९० को शेयर मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ भने ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ को मूल्य १० प्रतिशतले उकालो लागेको छ । यता, हाथवे इन्भेस्टमेन्ट नेपालका शेयरधनीले भने आज सबैभन्दा धेरै १०.५८ प्रतिशतको घाटा व्यहोरेका छन् ।
कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो, जसको ३५ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । त्यस्तै, शिवम सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार हुँदै दोस्रो स्थान हासिल गर्यो ।

