काठमाडौँ । नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विद्युतीय खेल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपनका लागि भायानेट कम्युनिकेसन्सले आधिकारिक इन्टरनेट साझेदारको जिम्मेवारी सम्हाल्ने भएको छ ।
यस बृहत् खेल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण उच्चस्तरीय इन्टरनेट तथा सञ्चार पूर्वाधार भायानेटले नै व्यवस्थापन गर्नेछ ।
गेमिङ प्रतियोगितामा स्थिर, निर्बाध र न्यून विलम्बता (लो लेटेन्सी) भएको कनेक्टिभिटी अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले कम्पनीले आफ्नो बलियो सञ्जालमार्फत सेवा सुनिश्चित गर्ने जनाएको छ । यसभन्दा अघि पनि भायानेटले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिपमा आधिकारिक इन्टरनेट पार्टनरका रूपमा काम गरिसकेको छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरका इ-स्पोर्ट्स प्रतियोगिताहरूको आयोजना क्रम बढेसँगै विद्युतीय खेलकुद क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लगिएको भायानेटले उल्लेख गरेको छ ।
देशभरका व्यक्तिगत तथा व्यावसायिक ग्राहकलाई उच्चगतिको फाइबर इन्टरनेट र आधुनिक डिजिटल सञ्चार सेवा दिँदै आएको भायानेटले ग्राहकलाई तीव्र, स्थिर र भरपर्दो सेवा अनुभव गराउन पूर्वाधार तथा नयाँ प्रविधिमा निरन्तर लगानी गरिरहेको बताएको छ ।

