धादिङ । वर्षापछि खसेको लेदोसहितको पहिरो हटाइए पछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
अघिल्लो साँझ करिब ६ बजे ठूला चट्टानसहित पहिरो जाँदा हुग्दी खोला नजिकैको पानीधारा क्षेत्रमा यातायात पूर्ण रूपमा थप्प भएको थियो । रातभर र आज बिहानसम्म निरन्तर प्रयास गरेर पहिरो सफा गरेपछि सडक सञ्चालनमा ल्याइएको हो ।
सडक खुले पनि धारापानी, फिस्लिङ र जवाङ खोला क्षेत्रमा सडकको किनारा भासिएकाले ती स्थानहरूमा भने सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजनाका अनुसार निरन्तरको वर्षाले गर्दा यस खण्डका विभिन्न ठाउँमा पहिरो जाने र सडक धसिने समस्या कायमै छ ।
वर्षा रोकिए पनि थप पहिरो खस्ने जोखिम यथावत् रहेकाले कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दी खोला–जवाङ खोला क्षेत्रमा यात्रा गर्नुअघि सडकको स्थिति बुझ्न आयोजनाले आग्रह गरेको छ । साथै, चालकहरूलाई निश्चित गतिमा गाडी चलाउन, लेन अनुशासन पालना गर्न, अनियन्त्रित रूपमा ओभरटेक नगर्न र संयमित भएर यात्रा गर्न अनुरोध गरिएको छ ।

