काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक आज बिहान १० बजेदेखि सुरु हुँदैछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र समितिका प्रतिवेदन पेस गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।
यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेस गर्नेछन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा कानुन मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

