काठमाडौँ । भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोका कारण प्रभावित भएका नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनालाई तीव्रता दिन नेपाली कांग्रेसले सरकारलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
पार्टीका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको शीर्ष नेताहरूको टोलीले सोमबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
प्रतिनिधिमण्डलमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य तथा प्रमुख सचेतक बासना थापा लगायतको सहभागिता रहेको थियो । रकम बुझाउँदै महामन्त्री पौडेलले प्राकृतिक विपत्तिको यस कठिन क्षणमा कांग्रेस नागरिकको साथमा रहेको र सरकारको राहत कोषमा पठाइएको रकमले पीडितको सुरक्षित बास, स्वास्थ्योपचार र खाद्यान्न व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साथै, कांग्रेस टोलीले बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न जोखिमयुक्त स्थानमा फसेका सर्वसाधारणको उद्धारमा भएको ढिलाइप्रति गम्भीर चिन्ता प्रकट गरेको छ ।
त्रिशूली र भोटेकोशी नदी तटीय क्षेत्रका भत्किएका पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन र राहत वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी एवं प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराइएको छ।

