काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज देशभर विविध साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । अल्पायुमै निधन भए पनि नेपाली भाषा र साहित्यको उत्थानमा उनले दिएको योगदानको स्मरण गर्दै विभिन्न सङ्घसंस्थाले कार्यक्रम मनाउन लागेका हुन् ।
विक्रम संवत् १९२३ को भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोटाहिटीमा जन्मेका भट्टको १९५३ सालको भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । छोटो जीवनकालमै उनले नेपाली साहित्यको श्रीवृद्धिमा दूरगामी प्रभाव पार्ने कामहरू गरे ।
नेपाली साहित्यमा शृङ्गार रसलाई भित्र्याएर लोकप्रिय बनाउनुका साथै उनले गजल विधाको जग बसालेका थिए । आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक तयार पारी प्रकाशनमा ल्याउने श्रेय पनि मोतीरामलाई नै जान्छ ।
यसका साथै नेपालमा पहिलोपटक छापाखाना (भारतजीवन) भित्र्याएर नेपाली पत्रिका र पुस्तकाकार कृतिहरूको नियमित प्रकाशन सुरु गराउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए । गजलका अतिरिक्त उनले कथा, नाटक, कविता र निबन्ध विधामा पनि उल्लेख्य रचनाहरू सिर्जना गरेका छन् ।

