काठमाडौँ । हिमाल आरोहणको शरद् ऋतु (अटोमन सिजन) सुरु भएसँगै नेपालका विभिन्न हिमाल चुम्न विदेशी तथा स्वदेशी आरोहीहरूको उत्साहजनक उपस्थिति देखिएको छ। पर्यटन विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस याममा विभिन्न ५५ वटा आरोहण टोलीका ५७९ जना आरोहीले अनुमति लिइसकेका छन् ।
यसरी आरोहण अनुमति दिँदा सरकारलाई १५ लाख ४६ हजार ९४३ अमेरिकी डलर (करिब २३ करोड ५१ लाख ८३ हजार रुपैयाँ) रोयल्टी संकलन भएको छ। अनुमति लिनेहरूमा ४३२ पुरुष र १४७ महिला आरोही रहेका छन् ।
यसपटक पनि आरोहीहरूको पहिलो रोजाइमा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल परेको छ । कुल आरोहीमध्ये मनास्लुका लागि मात्रै ४१ टोलीका ४९३ जना (३६६ पुरुष र १२७ महिला) ले अनुमति लिएका छन् । मनास्लु आरोहणको अनुमतिबापत मात्रै २२ करोड ४८ लाख १४ हजार रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ ।
मनास्लुबाहेक मकालु हिमालका लागि ३ जना, डाङ्गाका लागि १६ जना तथा धौलागिरि प्रथमका लागि ३४ जनाले अनुमति प्राप्त गरेका छन् । त्यस्तै गङ्गापूर्ण पश्चिम, थोराङ पिक, नोर्बु खाङ, अन्नपूर्ण चौथो, चाम्लाङ, बरुण टिसे र लमजुङ हिमालका लागिसमेत साना टोलीहरूले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

