काठमाडौँ । संकटग्रस्त बनेका ६ वटा सहकारीका साना बचतकर्ताले आफ्नो गुमेको रकम फिर्ता पाउन थालेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो चरणमा गोर्खा, गौतमश्री, शिव शिखर, आइडियल यमुना, ओरिएन्टल र कान्तिपुर सहकारीका कुल ८० जना साना बचतकर्ताको बचत रकम फिर्ता गराएको हो ।
समितिका अनुसार यसपटक गोर्खाका २५, कान्तिपुरका २९, शिव शिखरका १३, गौतमश्रीका ६, आइडियल यमुनाका ३ र ओरिएन्टल को-अपरेटिभका ३ जना बचतकर्तालाई रकम उपलब्ध गराइएको छ । सरकारले समस्याग्रस्त घोषित यी संस्थाहरूका ऋणीबाट उठाइएको बाँकी बक्यौता रकमबाटै पीडितहरूलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएको जनाएको छ ।
पहिलो चरणमा साना रकम जम्मा गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको र आगामी दिनमा बचत रकमको वर्गीकरण अनुसार क्रमैसँग अन्य बचतकर्ताको पैसा पनि फिर्ता गर्दै लगिने समितिले स्पष्ट पारेको छ । हाल प्रचलित कानुन बमोजिम समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र ऋण असुलीलाई तीव्रता दिँदै बचत फिर्ताको कामलाई निरन्तरता दिइँदै आएको छ ।

