काठमाडौँ । चाडपर्वको समय नजिकिँदै गर्दा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्ने भएको छ ।
चाडपर्वमा यात्रुको चाप अत्यधिक हुने र लामो यात्रामा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले यस्तो कदम चालेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार नियमित जाँचका क्रममा यदि एउटा मात्र चालक राखेर सवारी चलाएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ । दुई जना चालक हुँदा पालैपालो गाडी चलाउन पाइने भएकाले आरामको अभावमा हुने सम्भावित दुर्घटना रोक्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।
यसैगरी ट्राफिक प्रहरीले चालकहरूले मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे-नगरेको जाँच्न विशेष चेकिङ अभियान नै चलाउने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यात्रा सुरु हुनुअघि र यात्राका क्रममा समेत चालकको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरिने बताए ।
चाडपर्व लक्षित विशेष अभियानअन्तर्गत सडकमा प्रहरीको उपस्थिति बढाइनेछ भने सवारीसाधनको भौतिक अवस्था र चालकको योग्यताको पनि सूक्ष्म अनुगमन हुनेछ । यसका साथै यात्रु ठगिने, निर्धारितभन्दा बढी भाडा असुलिने र टिकटमा अनियमितता हुने जस्ता समस्या नियन्त्रण गर्न मुख्य सडक तथा बसपार्क क्षेत्रहरूमा निगरानी तीव्र पारिने प्रहरीले जनाएको छ ।

