काठमाडौँ । शहरी जनजीवनमा बढ्दै गएको मानसिक तनाव र अस्वस्थ जीवनशैलीलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले आफ्ना नागरिकका लागि विशेष आरोग्य अभियानको घोषणा गरेको छ ।
महानगरलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यका साथ प्रत्येक टोल र बस्तीमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो ।
यस अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय समझदारी भएको छ । सम्झौताअनुसार स्थानीयको आवश्यकता र सम्बन्धित वडाको सिफारिसमा विभिन्न स्थानमा आरोग्य केन्द्रहरू स्थापना गरिनेछन् । कार्यक्रमका लागि आवश्यक स्थान तथा भौतिक पूर्वाधारको प्रबन्ध महानगरले गर्नेछ भने दक्ष प्रशिक्षक र प्राविधिक सहयोग प्रतिष्ठानले उपलब्ध गराउनेछ ।
यो अभियान केवल सर्वसाधारणका लागि मात्र नभई विद्यालयका विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत लक्षित गरी तयार पारिएको छ । कार्यक्रममा शारीरिक अभ्यासका साथै पोषण, तनाव व्यवस्थापन, मानसिक शान्ति र सकारात्मक सोचबारे व्यावहारिक तालिम दिइनेछ ।
अभियानलाई प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित ‘आरोग्य कार्यदल’ गठन गरिनेछ, जसले नियमित समीक्षा गर्दै कार्यक्रमलाई निरन्तरता दिनेछ । कार्यवाहक प्रमुख सुनिता डंगोलले यो कार्यक्रमलाई हरेक नगरवासीको आफ्नै अभियानका रूपमा लिन र सक्रिय सहभागिता जनाउन आह्वान गरेकी छन् ।

