काठमाडौँ । ७ अगस्टमा रिलिज भएको भारतीय चलचित्र ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा चमत्कारिक कमाइ गर्दै सफलताको नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको ३६औँ दिनमा १० करोड ५० लाख भारतीय रुपैयाँ संकलन गर्दै यस चलचित्रले आफ्नो व्यापारिक यात्रालाई तीव्र बनाएको हो ।
हालसम्म यो चलचित्रले भारतमा १७३ करोड ६३ लाख खुद र २०५ करोड १५ लाख भारतीय रुपैयाँ कुल कमाइ गरिसकेको छ । मात्र २ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको यस चलचित्रले बजेटको सय गुणाभन्दा बढी व्यापार गर्न सफल भएको हो ।
कमाइकै क्रममा ‘हनुमान अंश’ ले शुक्रबारको बक्स अफिसमा ठूला चलचित्र मानिएका ‘मिर्जापुर द मुभी’ र ‘हैवान’ लाई समेत पछि पारेको छ । आठौँ दिनमा ‘मिर्जापुर द मुभी’ ले ९ करोड ५० लाख र प्रदर्शनको पहिलो दिन ‘हैवान’ ले ३ करोड भारतीय रुपैयाँ मात्र कमाएका थिए ।
सुरुवाती चरणमा भने यसको बक्स अफिस यात्रा निकै कमजोर थियो । प्रदर्शनको पहिलो दिन देशभरका २५ वटा पर्दामा मात्र सीमित रहँदै यसले केवल १० लाख भारतीय रुपैयाँ कमाएको थियो । तर, दर्शकको उत्कृष्ट प्रतिक्रिया र मुखैले फैलाएको सकारात्मक प्रचारका कारण चलचित्रको शो र कमाइ दुवैमा भारी वृद्धि भएको हो ।
सन् २०१३ मा ‘वर्निङ’ निर्देशन गरेका विशाल चतुर्वेदीको निर्देशनमा बनेको यस चलचित्रमा शोभिनव सत्य र चन्दन आनन्द लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रको सर्वाधिक लोकप्रिय गीत ‘मैने तेरे ही भरोसे हनुमान’ दृष्टिविहीन गायक सुनील लोढीले गाएका हुन् ।

