भक्तपुर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श र आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न शिक्षा विभागले स्थानीय तह तथा विद्यालयहरूलाई निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभाग (योजना तथा कार्यक्रम शाखा) ले आज एक पत्र जारी गर्दै विपद्का कारण विद्यार्थीमा भय, त्रास र तनाव उत्पन्न हुन सक्ने स्पष्ट पारेको छ । त्यसैले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्थाको परीक्षण गर्नुपर्ने विभागको जोड छ ।
विभागले सम्बन्धित स्थानीय तह र विद्यालयलाई नजिकका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूसँग समन्वय गर्न आग्रह गरेको छ । विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गरी परामर्श तथा आवश्यक सहायता प्रदान गरिसकेपछि उनीहरू अध्ययनका लागि तयार रहेको सुनिश्चित गरेर मात्र कक्षा सञ्चालन गर्न भनिएको छ ।
साथै, बाढीका कारण पठनपाठन र सिकाइमा पर्ने असर न्यूनीकरण गर्न सुरक्षित एवम् बालमैत्री वातावरण तयार पार्न पनि विभागले निर्देशन दिएको छ ।
विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै प्रभावित विद्यार्थीको शैक्षिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न आग्रह गरिएको छ ।

