काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार हालसम्म विभिन्न जिल्लाबाट १ हजार २५२ जनाको शव फेला परिसकेको छ । बाढीको प्रभाव परेका क्षेत्रहरूमध्ये चितवनमा सबैभन्दा बढी ३५५ जनाको शव भेटिएको छ भने नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । बरामद भएकामध्ये अहिलेसम्म ९५ जनाको मात्र पहिचान खुलेर शव आफन्तको जिम्मा लगाइएको छ ।
यसैबीच बाढी तथा विपद्का घटनामा परी ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बेपत्ता हुनेहरूमा नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ९०० र रसुवाका ८६५ जना स्थानीय रहेका छन् । सुरक्षा निकायहरूतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १३ जना जवान हराइरहेका छन् ।
यस्तै ५८३ जना विदेशी नागरिक र भ्रमणमा आएका १६४ जना गैरआवासीय नेपालीका साथै भन्सारका १४, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, क्वारेन्टाइनका ३, जनप्रतिनिधि ७, स्थानीय तहका कर्मचारी ३२ र निजी विद्यालयका १ जना शिक्षक सम्पर्कबाहिर छन् ।
विपद् लगत्तै खटिएका उद्धार टोलीले हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरेका छन् भने घाइते भएका ३०१ जनामध्ये १९५ जना उपचारपछि घर फर्किएका छन् ।

