गोरखा । प्रतिकूल मौसमका कारण गोरखाको मनास्लु हिमाल आरोहणमा आएका विदेशी आरोहीहरू धमाधम फर्किन थालेका छन् ।
दुई सातादेखि भइरहेको निरन्तर वर्षा र उच्च हिमपातका कारण बेसक्याम्प क्षेत्रको जनजीवन प्रभावित भएपछि आरोहण स्थगित गर्दै आरोहीहरू बीच बाटोबाटै फर्केका हुन् ।
चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार मनास्लु बेसक्याम्प र माथिल्ला क्याम्पहरूमा विगतको तुलनामा अत्यधिक हिउँ परेको छ । सरकारले समेत मौसम सतर्कता अपनाउन सूचना जारी गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आरोहीहरू फर्कन थालेका हुन् ।
स्थानीय पर्यटन व्यवसायी प्रबल लामाले विगत १२ वर्षयता यस्तो लगातारको झरी र हिमपात नदेखेको बताए । मनास्लु बेसक्याम्पमा तीन फिट र माथिल्ला क्याम्पहरूमा आठ फिटसम्म हिउँ जमेको छ ।
मौसममा क्रमिक सुधार आए पनि जोखिम उच्च रहेकाले यो याममा पुनः आरोहण सुरु हुने सम्भावना न्यून रहेको छ । हालसम्म करिब १० प्रतिशत आरोही फर्किसकेका छन् भने केही अझै अनुकूल मौसमको पर्खाइमा सामागाउँ र बेसक्याम्प आसपासमै रोकिएका छन् ।
चालु यामका लागि आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्न करिब पाँच सय जनाले अनुमति लिएका थिए ।

