काठमाडौँ । रसुवामा गएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्यलाई तीव्रता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपद्ले पुर्याएको क्षतिको तुलनामा हालसम्म भएका खोज तथा उद्धारका प्रयासहरू अपर्याप्त देखिएको बताए । उनले थप दक्ष जनशक्ति, आधुनिक उपकरण तथा आवश्यक स्रोत-साधनको तत्काल व्यवस्थापन गरी खोजी प्रक्रियालाई अझ प्रभावकारी बनाउन माग गरे ।
सचेतक बुर्लाकोटीले उद्धार गरिएका, बेपत्ता भएका र ज्यान गुमाएका व्यक्तिहरूको आधिकारिक विवरण स्थानीय प्रभावित वडा तहसम्म नियमित रूपमा पुर्याउने र पीडित परिवारलाई सोझै जानकारी दिने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
साथै फेला परेका शवहरूको पहिचानमा सहजताका लागि तत्काल डिएनए परीक्षणको प्रबन्ध मिलाउन, आवश्यक प्रविधि र विज्ञ टोली खटाउन उनले सरकारसँग आग्रह गरे । यसका साथै भविष्यमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक भवन वा भौतिक पूर्वाधार निर्माणमा रोक लगाउनुपर्ने सुझाव समेत उनले प्रस्तुत गरे ।

