काठमाडौँ । युरोपेली नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को समूह ४ मा पोर्चुगलले नर्वेमाथि २-१ को रोमाञ्चक जित हासिल गरेको छ ।
ओस्लोस्थित उलेभाल रंगशालामा भएको खेलमा पाहुना टोली पोर्चुगलका लागि जोआओ फेलिक्स र गोन्कालो रामोसले गोल गरे । नर्वेका तर्फबाट एर्लिङ हालान्डले गरेको गोल टोलीको जितका लागि पर्याप्त भएन ।
प्रतिस्पर्धात्मक बनेको खेलको १७औँ मिनेटमा पेड्रो नेटोको पासलाई सदुपयोग गर्दै फेलिक्सले पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको नर्वेले दोस्रो हाफको सुरुवातमै खेल बराबरीमा ल्यायो । ५१औँ मिनेटमा स्टार स्ट्राइकर हालान्डले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए ।
तर नर्वेको खुसी धेरै बेर टिक्न पाएन । त्यसको तीन मिनेटमै नर्वेका गोलरक्षक ओर्जान निलान्डको गल्तीको फाइदा उठाउँदै रामोसले उत्कृष्ट चिप गोलमार्फत पोर्चुगललाई पुनः २-१ को अग्रता दिलाए । बाँकी समयमा नर्वेले गोलका लागि लगातार प्रयास गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे ।
यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएनन् । प्रशिक्षकको निर्णयअनुसार उनी पूरै समय बेन्चमा सीमित रहे ।
यो जितसँगै समूह ‘ए ४’ मा पोर्चुगलले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ । नर्वेको भने दुई खेलबाट ३ अंक छ । यसअघि पोर्चुगलले वेल्सलाई १-० ले तथा नर्वेले डेनमार्कलाई ३-२ ले हराएका थिए । अब पोर्चुगलले अक्टोबर २ मा डेनमार्क र नर्वेले वेल्सको सामना गर्नेछन् ।

