दार्चुला । सुदूरपश्चिमको दुर्गम क्षेत्र मानिने दार्चुलाको अपी हिमाल गाउँपालिका–३ स्थित पाथा र कसौती गाउँमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि बजारीकरणमा ठूलो समस्या देखिएको छ ।
स्थानीय झण्डै ५० परिवारले व्यावसायिक तथा परम्परागत रूपमा कलमी, गाला र इटालीयन फुजी जातका स्याउ खेती गरेका छन् । तर, उत्पादित स्याउले बजार र ढुवानीको सुविधा नपाउँदा रूखमै कुहिने अवस्था सिर्जना भएको स्थानीय कृषकहरूले गुनासो गरेका छन् ।
हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह धामीका अनुसार उनको फार्ममा रहेका ५०० भन्दा बढी बोटमा १५ देखि २० क्विन्टल स्याउ फलेका छन् । गाउँमा प्रतिकिलो १०० रूपैयाँका दरले केही स्याउ बिक्री भए पनि ढुवानी गर्न नै पूरै एक दिन लाग्ने र सडकसम्म पुर्याउँदा पनि बिक्री हुने निश्चित नभएकाले ठूलो परिमाणको स्याउ घरमै थन्किएको छ ।
कसौती गाउँका अर्का कृषक जनक सिँह कार्कीको अवस्था पनि उस्तै छ । दुर्गम भूगोलका कारण उत्पादित फलफूल बजारसम्म पुर्याउन नसक्दा लगानी र मेहेनत खेर जाने चिन्ताले उनीहरूलाई सताएको छ ।
तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास कार्यालयले पाथा गाउँमा निर्माण गरिदिएको चिस्यानकेन्द्र (कोल्ड स्टोर) मा अहिले करिब २० क्विन्टल स्याउ भण्डारण गरिएको छ । तर, सो क्षेत्रमा नियमित विद्युत् आपूर्ति नहुँदा चिस्यानकेन्द्रमा राखिएको स्याउ पनि कुहिएर जाने डर किसानहरूमा बढेको छ ।

