काठमाडौँ । अभिनयको माध्यमबाट कमाएको नाम र दामलाई बलिउडका स्थापित कलाकारहरूले व्यापार–व्यवसायतर्फ तीव्र रूपमा मोड्न थालेका छन् । एमथ्रीएम हुरुन रिच लिस्टले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अभिनेता शाहरुख खान र उनको परिवार बलिउड क्षेत्रकै सर्वाधिक धनी व्यक्तिका रूपमा अग्रस्थानमा परेका छन् ।
उक्त सूची अनुसार खान परिवारको कुल सम्पत्ति १२ हजार ४९० करोड भारतीय रुपैयाँ (करिब १९ हजार ९८४ करोड नेपाली रुपैयाँ) पुगेको छ । उनको यो ठूलो आर्थिक सफलताको मुख्य आधार चलचित्र निर्माण कम्पनी ‘रेड चिलिज इन्टरटेनमेन्ट’ र मनोरञ्जन क्षेत्रका विभिन्न व्यावसायिक लगानी हुन् ।
यस्तै, दोस्रो स्थानमा रहेकी अभिनेत्री जुही चावला र उनको परिवारको सम्पत्ति ७ हजार ७९० करोड भारतीय रुपैयाँ (करिब १२ हजार ४६४ करोड नेपाली रुपैयाँ) आकलन गरिएको छ । खेलकुद क्षेत्रमा रहेको ‘नाइट राइडर्स स्पोर्ट्स’ मार्फत उनीहरूले आफ्नो व्यावसायिक दायरा विस्तार गरेका हुन् ।
तेस्रो स्थान ओगट्न सफल अभिनेता ऋतिक रोशनको कुल सम्पत्ति २ हजार १६० करोड भारतीय रुपैयाँ (करिब ३ हजार ४५६ करोड नेपाली रुपैयाँ) रहेको छ । फिटनेस र जीवनशैली सम्बन्धी चर्चित ब्रान्ड ‘एचआरएक्स’ (HRX) उनको आम्दानीको बलियो स्रोत बनेको छ ।
यसैगरी, १ हजार ८८० करोड भारतीय रुपैयाँ (करिब ३ हजार ८ करोड नेपाली रुपैयाँ) सम्पत्तिसहित निर्माता/निर्देशक करण जोहर चौथो स्थानमा छन् । लामो समयदेखि सक्रिय उनको ‘धर्मा प्रोडक्सन’ नै व्यावसायिक आम्दानीको मूल खम्बा हो ।
पाँचौँ स्थानमा परेका अभिनेता अमिताभ बच्चन र उनको परिवारसँग १ हजार ६३० करोड भारतीय रुपैयाँ (करिब २ हजार ६०८ करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ । बच्चन परिवारले विभिन्न क्षेत्रमा गरेको दीर्घकालीन लगानीलाई नै सम्पत्ति वृद्धिको मुख्य कारण मानिएको छ ।
हुरुनको प्रतिवेदनले बलिउड स्टारहरूको पहिचान अब चलचित्रको पर्दामा मात्र सीमित नरहेर खेलकुद, ब्रान्ड, निर्माण र अन्य विविध क्षेत्रको लगानीमार्फत ठूलो व्यावसायिक साम्राज्यमा परिणत भइसकेको देखाउँछ ।

