काठमाडौँ । नेपाल र रुसबीचको कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश गरेको अवसरमा दुवै देशका उच्च अधिकारीहरूबीच कूटनीतिक परामर्श बैठक आयोजना गरिएको छ ।
राजधानी काठमाडौँमा आयोजित उक्त बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत समीक्षा भयो । छलफलका क्रममा व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति, मानव संसाधन विकास र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा सहकार्य बढाउने सहमति भएको छ ।
यसका साथै, रुसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्था, सम्पर्कविहीन भएका नागरिकको खोजी, युक्रेन युद्धका क्रममा बन्दी बनाइएका नेपालीको रिहाइ र उनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि गम्भीरताका साथ कुराकानी भएको छ । दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयहरूमा समेत विचार आदानप्रदान गरेका छन् ।
उक्त परामर्श बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राय र रुसका तर्फबाट उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले गरेका थिए । नेपाल र रुसको परराष्ट्र मन्त्रालयस्तरमा यस्तो द्विपक्षीय परामर्श बैठक सञ्चालन गर्ने सम्बन्धी सम्झौता सन् १९९५ सेप्टेम्बर ५ मा भएको थियो ।

