तेह्रथुम । डेढ दशकदेखि अलपत्र परेको तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण कार्य अन्ततः अघि बढ्ने भएको छ ।
सुरुवाती विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा प्राविधिक त्रुटि भेटिएपछि २०६९ असार २६ गते सम्झौता भएको यो आयोजना लामो समयसम्म ठप्प बनेको थियो ।
पुल निर्माण रोकिएपछि रुग्ण बनेको यस योजनालाई सुचारु गर्न पूर्वाधार विकास मन्त्रालयको समन्वयमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाको संयुक्त बैठक बसेको थियो । मन्त्रालयले परामर्शदातालाई प्राविधिक समस्या पुनरावलोकन गरी ठोस समाधान पेस गर्न सहजीकरण गरेपछि कामले गति लिने बाटो खुलेको हो ।
अब मुख्य रूपमा स्टिल ट्रस जडानको काम बाँकी रहेको यस पुललाई आगामी २०८३ सालको अन्त्यसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

